सरकारी सवारीसाधनमा व्यक्तिको रजाइँ : बागचौर नगर भने अहिलेसम्म मौन, यस्तो छ भित्री रहस्य
३० माघ, २०८०, काठमाडौ । जनताको करबाट कार्यालय प्रायोजनका लागि खरिद गरिएको सरकारी मोटरसाइकलको चरम दुरुपयोग भएको भेटिएको छ।
सल्यान जिल्ला अन्तर्गत पर्ने बागचौर नगरपालिकाको नाममा दर्ता रहेको रा १ ब १५१६ नम्बरको सरकाली नम्बर प्लेटको मोटरसाइकल नगरसंग सम्बन्धित नै नरहेका महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत एकजना विद्यार्थीले लामो समयदेखी प्रयोग गर्दै आइरहेको पाइएको छ। महेन्द्र बहुमुखी क्याम्पस दाङमा अध्ययनरत विद्यार्थी, नेबिसंघका नेता तथा स्वतन्त्र विद्यार्थी युनियनका सदस्य समेत रहेका दिपक वलीले विगत एक महिना देखि बागचौर नगरपालिकाको नाममा दर्ता रहेको सरकारी मोटरसाइकल दुरुपयोग गर्दै आएको बिशेश श्रोतले जनाएको छ।
पहिलोपटक रुटिन अफ घोराही (Routine of Ghorahi) नामको सामाजिक संजाल फेशबुक पेजमार्फत यो खबर सार्वजनिक भएको थियो । रुटिन अफ घोराहीले रा १ ब १५१६ नम्बर प्लेट रहेको सवारीसाधनको फोटोसहित सरकारी नम्बर प्लेट भएको बाइक विगत एक महिना देखि महेन्द्र बहुमुखी क्याम्पस दाङका एक विद्यार्थीले प्रयोग गर्दै आइरहेको र उक्त सवारीसाधन सल्यानको बागचौर नगरपालिकाको नाममा रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण समेत गरेको थियो । रुटिन अफ घोराहीको उक्त पोष्टमा बाइक प्रयोगकर्ता नेबिसंघ महेन्द्र बहुमुखी क्याम्पसका नेता तथा स्ववियु सदस्यसमेत रहेको खुलाएको थियो।
यस्तो छ रुटिन अफ घोराहीले लेखेको जस्ताको तस्तै स्टेटस
“नेपाली जनता को कर बाट कार्यलय प्रयोजन को लागि खरिद गरेको सरकारी नम्बर प्यलेट भयको मोटर बाइक बिगत एक महिना देखि महेन्द्र बहुमुखी क्याम्पस दाङ्का एक विद्यार्थी ले प्रयोग गर्दै आइरहेको पाइयको छ । उक्त सरकारी बाइक सल्यान को बागचौर नगरपालिका को नाम मा रहेको खुलेको छ सम्बन्धि निकायको यसमा ध्यानाकर्षण होस ।
बाइक प्रयोग कर्ता ने बि संघ महेन्द्र बहुमुखी क्याम्पस का नेता रहेको र उक्त बाइक धनी नगरपालिका का मेयर पनि नेपाली काङ्ग्रेस बाट निर्वाचित भयका थिय ।”
यो खबर बाहिरिएपछि यतिबेला सरकारी सवारीसाधनको चरम दुरुपयोग गरेको भन्दै विभिन्न सामाजिक संजालमा बागचौर नगरपालीकाको चौतर्फी आलोचना भैरहेको छ। केही दिन अगाडि मात्रै माओवादी केन्द्र बागचौर नगरपालिकाका अध्यक्ष शोभाराम भण्डारीले सडक संचारसंग गरेको टेलिफोन अन्तर्वार्तामा पनि नगरका मेयरको नामै तोकेर विभिन्न आरोपहरु लाएका थिए। ती आरोपहरु मध्ये सरकारी ढुकुटीको दुरुपयोग गरेको आरोप पनि एक थियो। उनले अन्तर्वार्तामा बोल्दै “अहिले बागचौरमा कांग्रेस त्यो पनि जनकराज गौतमका खास मानिसले सरकारी ढुकुटीको चरम दुरुपयोग गरिरहेका छन” भन्ने आरोप लाएका थिए। भण्डारीसंगको अन्तर्वार्तापछि बागचौर नगरका मेयर जनकराज गौतमको सचिवालयबाट सडक संचारका प्रतिनिधिलाई फोनसमेत आएको थियो । फोनमा त्यति लामो कुरा नभएपनि उक्त अन्तर्वार्ता प्रती गौतमको सचिवालय सकारात्मक नभएको स्पष्ट बुझिन्थ्यो।
रुटिन अफ घोराहीले उक्त खबर सार्वजनिक गरेसंगै यतिबेला यो बिषयमा विविध टीकाटिप्पणी हुन थालेका छन। सामाजिक संजाल प्रयोग कर्ताहरुले जनताको करबाट किनेको सरकारी सवारीसाधन नगरपालिकाले चरम दुरुपयोग गरेको भन्दै आलोचना गरिरहेका छन।
के हो वास्तविकता ?
रुटिन अफ घोराहीले उक्त खबर सार्वजनिक गरेपछि थप सत्यतथ्य बुख्नको लागि सडक संचारले विविध निकायसंग सम्पर्क गरेको छ। उक्त रा १ ब १५१६ नम्बरको प्लेटको सरकारी बाइक सल्यान जिल्ला अन्तर्गत बागचौर नगरपालीको नाममा दर्ता रहेको पुष्टि भएको छ। उक्त नम्बर प्लेटको बाइक महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी, नेबिसंघका नेता तथा स्ववियु सदस्यसमेत रहेका दिपक वलीले विगत एक महिना देखि नै प्रयोग गरिरहेको बिशेश श्रोतले जनाएको छ। यद्यपि सामाजिक संजाल फेशबुक पेज रुटिन अफ घोराहीका प्रतिनिधिले पनि आफुले सार्वजनिक गरेको उक्त खबर सत्य नै भएको सडक संचारलाई बताएका छन। यसका साथै सो मोटरसाइकल दिपक वली आफैले चलाएर कलेज भित्र गइरहेको भिडियो फुटेज पनि हामीलाई उपलब्ध भएको छ।
दिपक वली महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी, नेबिसंघका नेता तथा स्ववियु सदस्यसमेत रहेको पनि पुष्टि भएको छ। यद्यपि गत बर्ष भएको स्थानीय तहको निर्वाचनमा बागचौर नगरपालीका मेयर जनक राज गौतम पनि नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए।
यतिबेला कांग्रेसबाट निर्वाचित मेयर भएको नगरपालीकाको सवारीसाधन दुरुपयोग गर्ने व्यक्ती पनि कांग्रेस निकट नेबिसंघका नेता हुनुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ। यसरी सवारीसाधनको दुरुपयोग हुनुमा कुनै न कुनै रुपमा राजनैतिक साइनो जोडिएको हुन सक्ने धेरैले आँकलनसमेत गरिरहेका छन।
के भन्छन नगरका कर्मचारी तथा उक्त मोटरसाइकल प्रयोग गरिरहेका कर्मचारी खड्काले ?
रा १ ब १५१६ नम्बर प्लेटको सरकारी मोटरसाइकलका खास प्रयोगकर्ता भने बागचौर नगरपालिकाका कर्मचारी, नायब सुब्बा धनीराम खड्का रहेको पाइएको छ। नगरपालीकाले सरकारी प्रायोजनका लागि खरिद गरेको उक्त बाइक खड्काले प्रयोग गर्दै आइरहेका थिए। खड्का स्वयमले उक्त बाइक रुकुम घर भई हाल महेन्द्र बहुमुखी क्याम्पस दाङमा अध्ययनरत विद्यार्थी दिपक वलीले प्रयोग गरेको स्वीकार गरिसकेका छन।
सडक संचारसंग कुरा गर्दै खड्काले आफ्नै अनुरोधमा अति आवश्यक कामको लागि वलीले बाइक प्रयोग गरेको तर दुरुपयोग भने नगरेको जिकिर गरेका छन। उनले सवारीसाधन दुरुपयोग गरेको आरोप भने ठाडै अस्विकार गरेका छन। खड्काले उक्त विषयलाई बढी नै प्रचार गरिएको र खास आफू पनि सरकारी सवारीसाधन दुरुपयोग गर्नुहुन्न भन्ने सोच भएको व्यक्ती भएको सडक संचारलाई बताएका छन। खड्काले थप प्रष्ट्याउदै भने, “आफू अफिसरको लागि जम्मा २ हप्ता अघि मात्रै अन्तर्वार्ता दिन काठमाडौ जाने क्रममा उक्त बाइक घोराही अदालतको पार्किङमा राखेको थिएँ, सोही क्रममा मलाई मास्टरको क्यारेक्टर प्रमाणपत्र चाहिने भएकोले दिपक वलीलाई फोन मार्फत घोराही बहुमुखी क्याम्पसबाट उक्त प्रमाणपत्र ल्याइदिन अनुरोध गरेको थिएँ, सोही क्रममा सहज होला भनेर आफ्नै बाइक प्रयोग गर्न मैले अनुरोध गरेपछि मात्रै दिपक वलीले बाइक लिएर गएका हुन।” उनले दुई पटक मात्रै उक्त बाइक प्रयोग भएको बताएका छन। पहिलोपटक क्याम्पस जानेबेला र दोश्रोपटक बैंक जाने क्रममा मात्रै उक्त बाइक प्रयोग भएको दाबी खड्काले गरेका छन।
उता स्ववियुकै सदस्य तथा त्यहाँ अध्ययनरत विद्यार्थीले भने उक्त बाइक दिपक वलीले करिब एक महिना अगाडिदेखि नै निरन्तर प्रयोग गर्दै आइरहेको सडक संचारलाई बताएका छन। सामाजिक संजाल फेशबुक पेज रुटिन अफ घोराहीमा आएको खबर सत्य भएको उनीहरुको भनाइ छ।
यता उक्त मोटरसाइकल प्रयोगकर्ता खड्काले भने आफुमाथी लागेको आरोप अहिलेसम्म स्वीकार गरेका छैनन। यसरी सरकारी सवारीसाधनको व्यक्तिले दुरुपयोग गरेको भन्दै सामाजिक संजालमा चौतर्फी आलोचना भैरहेको बेला नगरपालिका भने यो विषयमा अहिलेसम्म मौन छ। सार्वजनिक सवालका विषयहरुमा प्रश्न उठ्दा नगरपालिकाले सत्यतथ्य छानबिन गरि आवश्यक पहल लिनुपर्नेमा औपचारिक रुपमा चासो नै नलिनुले पनि थप शंका उत्पन्न गरेको छ। यद्यपि आम जनताले यतिबेला नगरपालिकाको जवाफ कुरिरहेका छन।