Close sidebar

विकास निर्माणको काम अघि बढ्दा स्थानीय खुसी

दाङ । पश्चिम दाङलाई जिल्लाको विकट क्षेत्रका रुपमा लिइन्छ । जसलाई दाङको ‘कर्णाली’ भनेर चिनिन्छ । विकासको दृष्टिकोणले पछि परेको दाङको पश्चिम क्षेत्रमा पर्ने बबई गाउँपालिकामा अहिले भने धमाधम विकास निर्माणको काम भइरहेको छ । यहाँका सडक, नाली, खानेपानी, सिँचाई लगायतका कामहरू भइरहेका छन् । यसरी विकास निर्माणको काम अघि बढ्दा स्थानीय खुसी भएका छन् । “पश्चिम दाङमा विगतमा न्यून विकास हुन्थ्यो”, स्थानीय कृष्ण खड्काले भन्नुभयो, “तर, यस बर्ष जताततै विकास निर्माणका कामहरू सुरु भइरहेका छन् ।”

विगतमा खानेपानीको समस्या भएको बबई गाउँपालिकाको जलुके, हुरुमका लागि सिँचाइ र खानेपानीको काम भइरहेको छ । प्रदेश सरकारले सिँचाइका लागि १० लाख र खानेपानीका लागि २० लाख बजेट बिनियोजन गरेपछि त्यसको काम भइरहेको छ । “हामीलाई खानेपानीको निकै समस्या छ, धेरै पटक माग गर्‍यौँ, अहिले बजेट परेको छ”, जलुके निवासी रतिराम विकले भन्नुभयो “यो काम पूरा भएपछि हामीलाई धेरै सहज हुनेछ ।”

त्यस्तै, नाली निर्माण भएको लामो समयसम्म पनि कालोपत्रे हुन नसकेको आदर्श नगर हापुरे टोलमा अहिले कालापत्रेको काम अघि बढेको छ । प्रदेश सरकारको एक करोड ३० लाख बजेटमा सोही ठाउँमा काम भइरहेको छ । त्यस्तै बबई–५ स्थित रोल्पालीतरा–जिरायत कुलो निर्माणको काम पनि जारी छ । सोही वडाको सिमगैरा–पल्लोतरा सिँचाइ योजनाका लागि परेको १० लाख बजेटले काम अघि बढेको छ ।

त्यस्तै, आनन्द नगर टोलमा नाली निर्माण भएको छ, भने प्रगतिशील आधारभूत विद्यालयको भवन निर्माणको काम भइरहेको छ । बबईको बिकट क्षेत्र वडा नं. १ को जिला, सिमलकुना जोड्ने बबई नदीमा पुल निर्माणका लागि डीपीआर समेत भएको छ । सोही ठाउँमा डीपीआर भएसँगै पुल बन्ने जिला, सिमलकुनाका बासिन्दाको अपेक्षा छ । नाली निर्माण गरेपछि शान्तिनगर– ५ बैशाका नागरिक पनि त्यतिकै खुसी छन् ।

स्थानीय क्रिमलाल चौधरीका अनुसार यसअघि सोही ठाउँमा नालीका लागि कुनै पहल नभए पनि अहिले नाली निर्माण भएपछि खुसी भएको बताउनुभयो। “हामीले पश्चिम क्षेत्रबाट पहिलो पटक मन्त्री पायौँ”, उहाँले भन्नुभयो “जसले गर्दा भने अनुसारका योजना पाएका छौँ ।”

भर्खरै

Leave a Reply

Your email address will not be published. Required fields are marked *